०२ असोज, २०७८
    {
विचार

मासिकस्राव प्राकृतिक या अपवित्र ?

  • Puleso
  • २०७८ भदौ २४ बिहीबार
मासिकस्राव प्राकृतिक या अपवित्र ?

शास्त्रले महिला श्रापित हो, आधा मानव हो, कमजोर हो, पुरुषको सहयोगी होभन्दा महिलाले बिनाप्रश्न पत्याइदिए।


त्यसबेला १० कक्षामा पढ्थेँ। अहिलेभन्दा पनि बढी हाउगुजी थियो एसएलसी। अप्ठेरो भनिने विषय अंग्रेजी र गणितको ट्युसन पढ्थ्यौँ। हाम्रो ट्युसन समूहमा केटाभन्दा केटीको संख्या बढी थियो। पढ्न थालेको त्यस्तै दुई महिना जति भएको थियो। एकदिन सरले भन्नुभयो, ‘होइन तिमीहरू कोही पनि नछुने हुँदैनौ कि क्या हो ?’

हामी केटीहरू रातापिरा भएर मुन्टो निहुर्‍यायौँ। केटा अप्ठेरो मानेर हाँसे। हामी सधैं सरकोमा गएकाले यो प्रश्न आएको थियो। त्यसपछि हामी नछुने भएको बेलामा सरकोमा जान छोड्यौँ।

पढ्न जान छोडेपछि सरले मात्र होइन हाम्रो समूहका केटाले पनि थाहा पाउने भए हामी नछुने भएको। त्यो हामीलाई अर्को लाजको विषय थियो। त्यही निहुँमा केही साथीले पढ्न नै छोडे। मैले छोडिनँ। मलाई झोँक चल्थ्यो। म जहिलेसुकै नछुने हुम् के मतलव भन्ने लाग्थ्यो। त्यो झोँक अहिलेको भाषामा विद्रोह रहेछ। जानेर गरेको विद्रोह थिएन। चलेको झोँक मात्र थियो। मेरो झोँकले पनि चल्ने अवसर पाएको थियो। मेरो घरभन्दा अर्को गाउँमा स्कुल थियो। घर गएको बेलामा नछुने भएकी थिएँ भनेर झुक्याउने मौका थियो। मैले मौका छोप्थेँ।

क्याम्पस पढ्न आएँ। आफन्तकोमा बस्थेँ। सरभन्दा कडा थिए आफन्त। नछुने बार्न चाहिँ साह्रै चर्को थियो। भुइँमा ओछ्याएको कार्पेट, झ्यालढोकाका पर्दा केही पनि छुनु नहुने। छोयो कि धोइहाल्नुपर्ने। एक महिना बार्‍यो दुई महिना बार्‍यो। कति बार्नु। फेरि मेरो झोँक ब्युँझन थाल्यो। नदेखेको बेलामा भान्सामा गएर सबै छोइदिन्थेँ। ओछ्यानमा बसिदिन्थेँ। तर आँखा अगाडि छुने साहस गरिनँ। बसेर पढ्नु थियो। त्यही स्वार्थले बारेँ।

खासमा महिलाको मासिकस्राव कुनै मिथकले या शास्त्रले व्याख्या गर्न बनेको होइन। मानवचक्रलाई स्थापित र निरन्तरताका लागि बनेको हो।

जब भाडाको कोठामा बस्न थालेँ। मेरो संसारकी मालिक आफैँ थिएँ। बारिनँ। बिहे भयो। कसैलाई धामी आउने कसैलाई के बार्नुपर्ने, कसैलाई के गर्नुपर्ने भनेर नियम सुनाए। सुनेँ। तर नछुने बारिनँ। आजसम्म बारेकी छुइनँ। नबार्दा, अथवा कहीँ कतै छुँदा डर लाग्दैन। हत्तपत्त कसैको घरमा जान्नँ। नछुने भएको बेलामा जानै पर्‍यो भने बार्नु पर्छ पर्दैन भनेर सोध्छु। एक, दुई पटक लामो बाटो जाँदा बास बसेको बेलामा यस्तो अबर परेको छ। त्यो अलग कुरा हो।

माथिका यी घटना घटेको बेलामा मसँग खासै तर्क थिएनन्। किन बार्ने या नबार्ने भन्ने। तर बार्नुपर्छ भनेर नछुने बारेको बेलामा मैले महसुस गर्ने अपमान मलाई असह्य भएको चाहिँ रहेछ। हरेक महिना घरपरिवार, छिमेकी, सार्वजनिक स्थलमा नछुने भएकै आधारमा अपमान व्यहोर्ने वर्ग हामी हौँ। एक पटक मैले साथीहरूसँग भनेकी छु, ‘यो पाठेघर निकालेर फालेपछि नछुने भइँदैन अरे। पाठेघर निकालेर फाल्ने रोग लागे पनि हुने।’ अपमान व्यहोर्न नसकेको पीडाले सायद यसो भने हुँला। थुप्रै केटीले यस्तै सोच्दा हुन्। हामीलाई आफ्नै शरीरमाथि यसरी अपराध सोच्न बाध्य बनाउने चलनले जरा गाडेको छ। आफ्नो शरीरलाई सम्झिएर हीनताबोध गराउने हाम्रा प्रचलनहरू धेरैजसोका घरमा र मस्तिष्कमा छन्।

महिनावारीको प्रत्यक्ष सम्बन्ध विवाहसँग जोडिएको छ। पारम्परिक विवाहको उद्देश्य सन्तान जन्माउनु वा वंश विस्तार गर्नु हो। सन्तान जन्माउनु वा वंश विस्तार गर्नु पवित्र कर्तव्य ठानिन्छ। महिनावारीसँग सन्तानको जन्म कारण जोडिएको छ। वंश विस्तार गर्ने सन्तान जन्माउनु अपरिहार्य छ भने महिनावारी कसरी अपवित्र भयो ? महिलालाई कमजोर भनियोस् भनेर महिनावारी भएको होइन। महिलाको सबल पक्षसँग महिनावारी जोडिएको छ। महिनावारी भएकै कारणले महिलाले सन्तान उत्पादन गर्न सक्छे। के प्रकृतिको प्राकृतिक गुण अपवित्र हुन्छ ? प्रकृतिलाई हामी चोख्याउन सक्छौँ ?

शरीरले बिसर्जन गर्ने कुरा त कति छन् कति। शरीरबाट बिसर्जन हुने मलमूत्र पसिना इत्यादि स्त्री र पुरुषको एकै हुन्छ। तर महिनावारीको बेलामा बिसर्जन हुने खुन महिलाको मात्र हुन्छ। शारीरिक बनावटका आधारमा स्त्रीपुरुषको अन्योन्याश्रित सम्बन्ध भए पनि फरक छन्। तिनै फरक विशिष्ट गुणलाई विभिन्न शास्त्रले अपव्याख्या गरेको हो भनेर हामी ठोकुवा गर्न सक्छौँ। विभिन्न ग्रन्थ र विश्वासमा तयार गरिएको व्याख्यालाई आधार मानेर आज पनि हामीले महिलाको महिनावारी अशुद्धताको प्रतीक हो भन्नु व्यर्थ छ।

महिलाको महिनावारी अशुद्धताको प्रतीक होइन प्राकृतिक कुरा हो। कतिपय महिलाले भनेको सुनिन्छ, म भगवान्बाहेक सबै छुन्छु। यदि तपाईंले मान्ने भगवान्को प्रकृतिसँग अन्योन्याश्रित सम्बन्ध छ भन्ने ठान्नुहुन्छ भने जहाँ छोए पनि फरक पर्दैन। यदि भगवान् हिजोका मान्यताबाट स्थापित हुँदै आएका हुन् भने मान्नुहुन्छ भने भगवान्लाई छुन डराउनु स्वाभाविक हो। किनभने हाम्रो मनोविज्ञान त्यसैगरी तयार भएको हुन्छ। यसलाई धेरथोर मेटाउन सकिन्छ। तर उखेलेर फाल्न सकिँदैन। पढालेखा समाजका मान्छेले थाहा पाएर पनि बुझ पचाउनु नहुने कुरा के हो भने महिलाको मासिकस्राव विशुद्ध प्राकृतिक चक्र हो। यो कुनै भगवान्सँग जोडिएको विषय होइन।

महिलाको मासिकस्राव माथिको (अप?) व्याख्या विशुद्ध सांस्कृतिक–राजनीति हो। ऋषिपञ्चमीको कथामा महिनावारी भएका बेलामा बोटबिरुवा, पुरुष, खानेकुरा, पानीजस्ता कुराहरू छोएपछि कुकुर्नी, धोबिनी, ब्रह्मा हत्यानी हुनेजस्ता त्रसित बनाउने कथा बुनिएको छ। त्यही त्रसित कथा ऋषिपञ्चमीका दिन सुनाइन्छ। सुग्घर सफा हुनु, पहरेजमा बस्नु एकातिर राम्रो पक्ष हो। तर मनोविज्ञानमा गहिरो असर पर्ने गरी भनिएका कथाले महिनावारीको बेलामा खासगरी किशोरीहरूलाई पार्ने मनोवैज्ञानिक आघातको चर्चा गर्न बाँकी नै छ।

महिलाको आफ्नै शरीरमाथि गरिएको अपव्याख्यालाई एक वर्गका महिलाहरूले नकारेका छन्। एकथरीले महिलाको शरीर कमजोर होइन। श्रापित होइन। हामी पनि मानव हौँ भन्ने हुँकार लिएर आएका छन्। तर ती आवाजहरूलाई अपव्याख्या गर्ने पढालेखा भनिएकाहरूको एउटा नजानिँदो हुल तयार छ। त्यो हुल कसरी तयार हुँदैछ ? किन महिलाले आफ्ना कुरा उठाउँदा उनीहरूको टाउको दुखाइ हुन्छ। यसको मुख्य कारण विवाहमा गएर जोडिन्छ। विवाहका हरेक मान्यताहरू पुरुषमैत्री छन्। महिलाको शरीरको अपव्याख्याको सुरुआत महिलाको शारीरिक संरचनाबाट तयार गरिएको छ।

मन मिलेपछि विवाह गर्ने भनिए पनि विवाहको प्रत्यक्ष सम्बन्ध शरीरसँग जोडिएको हुन्छ। सन्तान उत्पादनका लागि महिलाको महिनावारी अनिवार्य पनि छ। तथापि महिलामाथि शासन पनि गर्नु पर्नेछ। पितृसत्ताको यही मान्यताले महिलाको शरीरमाथि व्याख्या र अपव्याख्या गरिएका कथा र 

मिथकहरू प्रशस्त तयार भएका छन्। ती लेख्ने लेखकहरू अधिकांश पुरुषहरू हुन्। पाठक पनि पुरुष नै हुन् र केही हदसम्म महिला छन् तर ती महिला पाठक पनि जस्ताको तस्तै पत्याउने हैसियतका भइदिए। तिनै कथा र मिथकहरू हाम्रो मनोविज्ञानमा गहिरो गरी बसेका छन्।

शास्त्रले महिला श्रापित हो, आधा मानव हो, कमजोर हो, पुरुषको सहयोगी हो भन्दा महिलाले बिनाप्रश्न पत्याइदिए। पुरुषको सेवा गर्दा स्वर्ग पुगिन्छ। धर्म नै पुरुष सेवा हो। उसको शत्मा उसको निष्ठामा बस्नु नै स्त्रीधर्म हो भन्दा थपक्कै मानिदिए। अहिले महिलाले आफ्नो शरीरको व्याख्या आफैँले गर्न थाले। मेरो शरीरसँग मेरो अधिकार छ भनेर आवाज उठाउन थाले। म पनि आफैँ कमाउन सक्छु भनेर देखाउन थाले। 

महिनावारी अपवित्र होइन प्रजननसँग जोडिएको प्राकृतिक कुरा हो भनेर आवाज उठाउन थाले।

अझ सबैभन्दा ठूलो कुरा केही हदसम्म भए पनि बिहेको निर्णय आफैँ गर्न थाले। बिहेको निर्णयले उसको प्रजनन अधिकारको कुरा उठाउन थाले। जब महिलाहरू बिहे र प्रजननको अधिकार हातमा लिन सक्षम हुँदै अए, समाज हल्लन थालेको छ। अझ भनौँ यो सामाजिक संरचना अझै हल्लन बाँकी नै छ। सामाजिक संरचनामा आउन थालेको भुइँचालोसँग डराएर समाज भड्कियो, बिग्रियो भन्नेहरूका आवाज निस्कन थालेका हुन्। ती आवाजहरू तर्कका नभएर त्रासका आवाज हुन्।

खासमा महिलाको मासिकस्राव कुनै मिथकले या शास्त्रले व्याख्या गर्न बनेको होइन। मानवचक्रलाई स्थापित र निरन्तरताका लागि बनेको हो। यति ठूलो जिम्मेवारी प्रकृतिले महिलाको शरीरलाई सुम्पिएको छ भने महिनावारी पाप हो भन्दै पत्याइदिनु त ! मेरो १२ वर्षको उमेरदेखिको अनुभवमा महिलाहरू सबैभन्दा बढी शक्तिशाली, विशेष निर्णय लिन सक्ने भनेको महिनावारी भएको बेलामा हो। महिनावारीले हरेक महिना नारी शक्तिको उद्घाटन गर्छ। शास्त्रीय ढंगले नै व्याख्या गर्नु पर्‍यो भने पनि आफ्नो शरीरको काँचो खुन हरेक महिना देख्न पाउनु भनेको शरीरसँगको तीर्थयात्रा हो।

प्रतिक्रिया

छुटाउनुभयो कि?

सेयर बजार राताम्मे, ५०.१३ अंकको गिरावट

काठमाडौं । बिहीवार साताको पाँचौं दिन सेयर बजार राताम्मे भएको छ ।

  • Puleso
  • २०७८ भदौ १७ बिहीबार
सेयर बजार राताम्मे, ५०.१३ अंकको गिरावट

आज राति काठमाडौंमा भारी वर्षाको सम्भावना

आज बुधबार राति काठमाडौं उपत्यका र त्यस आसपासका क्षेत्रमा भारी वर्षाको सम्भावना छ । 

न्यून चापीय  प्रणालीका कारण राति उपत्यकामा केही समय भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद्...

  • Puleso
  • २०७८ भदौ २३ बुधबार
आज राति काठमाडौंमा भारी वर्षाको सम्भावना

विश्वमा आजः निक्सनलाई सफाइदेखि द्वितीय विश्व...

आज सेप्टेम्बर ८ । आजको दिन विश्व इतिहासमा केही राजनीतिक तथा सामाजिक घटनाक्रम विकसित भएका थिए ।  प्रस्तुत छ आज भएका केही विश्व घटनाः

युगोस्लाभियाबाट म्यासेडोनिया स्वतन्त्र
चारैतिर मरुभूमिले घेरेको...

  • Puleso
  • २०७८ भदौ २३ बुधबार
विश्वमा आजः निक्सनलाई सफाइदेखि द्वितीय विश्व युद्धमा जापानको आत्मसर्मपण

ह्याट्रिकमा नेदरल्यान्ड र नर्वेको सहज जित

कतार फिफा विश्वकप छनोट अन्तर्गत युरोपेली छनोट खेलमा स्ट्राइकर मेम्फिस डिपाए र यर्लिङ हालाण्डको ह्याट्रिकमा नेदरल्यान्ड र नर्वेले सहज जित निकालेका छन् ।

मंगलबार राति भएको समूह 'जि'को  छुट्टाछुट्टै खेलमा घरेलु...

  • Puleso
  • २०७८ भदौ २३ बुधबार
ह्याट्रिकमा नेदरल्यान्ड र नर्वेको सहज जित