२३ साउन, २०७९
    {
अर्थ

बैङ्किङमा उदीयमान रश्मि

  • पुलेसो
  • २०७८ भदौ २५ शुक्रबार
बैङ्किङमा उदीयमान रश्मि

 भारतीय दार्शनिक ओशोले पटक–पटक भनेका छन्, ‘भगवान् गौतम बुद्ध भारतवर्षका कयौँ गुरुकुलमा पुगेर शिक्षा–दीक्षा ग्रहण गरेका थिए ।’ भिन्न–भिन्न गुरुकुलका शिक्षाले उनलाई नवीन ज्ञानको प्रवर्ध्दनमा सघाउ पुग्यो भन्ने उनको मत थियो । धेरैजसो अभिभावकहरू आफ्ना बच्चालाई सबै स्तरीय विद्यालयमा पठाउन चाहन्छन् । तर कसैले पनि हेक्का गरेको हुँदैन की, आफ्ना सन्तानलाई भिन्न विद्यालयमा पढाऊँ । 

विद्यालय शिक्षा भनेको मानिसको बौद्धिक विकासको निकै उर्वर थलो हो र जसले पुरा जीवन जीउनलाई थुप्रै आधारभूत ज्ञानको सङ्ग्रह गर्नमा सघाउँछ । भिन्दाभिन्दै समाजमा चहारेर हुर्केका बालबालिकाहरू अधिकतर बढी तीक्ष्ण र सुझबुझपूर्ण निर्णय गर्न सक्ने खालका हुन्छन् भन्ने धेरैले बुझेकै कुरा हो । यस्तै एक पात्र हुन रश्मि पन्त । 

अहिले प्रभु बैङ्कको प्रमुख सञ्चालन अधिकृत रहेकी छिन् रश्मि पन्त । महेन्द्रनगरको तातो धूपमा ३३ वर्षअघि घरकी जेठी छोरीका रूपमा जन्मिएकी उनी अहिले कम उमेरमै नेपाली बैङ्किङ क्षेत्रकै उच्च ओहोदामा पुग्ने एक महिलाको रूपमा चिनिन्छिन् । उनले एसएलसी परीक्षासम्म विभिन्न जिल्लाका १३ वटा विद्यालयमा पढिन् । बुवा सरकारी न्याय सेवामा रहेकाले देशका झन्डै २ दर्जन जिल्ला चहार्ने मौका उनलाई मिल्यो । त्यस्तो मौका धेरै कमले मात्र पाउँछन् । उनको विद्यालय शिक्षा पनि दार्चुलादेखि सुर्खेत, नेपालगन्ज, बर्दिया, दाङ, कैलाली लगायतका विद्यालयहरूबाट पुरा भयाे ।  

उनको विद्यालय यात्रा दार्चुलाबाट सुरु भयो । त्यस बेला दार्चुलामा एलकेजी भर्ना भएकी उनी ६–७ महिना त्यहाँ पढेर महेन्द्रनगर पुगिन् । फेरि नेपालगन्ज, गुलरिया, सुर्खेत, घोराही र फेरि त्यही रुटमा उनको पढाइ यात्रा घुमिरह्यो । ‘विद्यालय जीवनमा सर्वाधिक टिकेको महेन्द्रनगरमा हो,’ उनी भन्छिन्, ‘९ कक्षाको आधा पढाइ अन्तै पढेर त्यहाँ पुगेकी थिएँ, १० कक्षा पुरा पढेर एसएलसी पनि त्यहीँबाट दिएँ ।’ 

२०५९ सालमा एसएलसी दिँदा माओवादी द्वन्द्वको प्रभाव बढ्दै थियो । त्यसले पनि उनलाई अन्तिम समयमा विद्यालय परिवर्तन गर्न दिएन । त्यसपछि उनले महेन्द्रनगरकै सिद्धनाथ साइन्स क्याम्पसबाट आईएससी उत्तीर्ण गरिन् । स्नातक पढ्नमात्रै उनी काठमाडौँ टेकिन् । उनले भीएस निकेतनमा बिबिए र काठमाडौँ युनिभर्सिटी स्कुल अफ म्यानेजमेन्ट (कुसुम) बाट स्नातकोत्तर उपाधि हासिल गरेकी छिन् । अहिले उनी त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा विद्यावारिधि गर्दै छिन् । 

जागिरे जीवन 

रश्मिको जागिरे जीवन स्नातकोत्तर सकिएपछि मात्रै शुरु भयो । प्रभु बैङ्कमा अधिकृत स्तरबाट प्रवेश गरेकी उनी त्यसपछि रोकिइनन् । सिधै उप–प्रबन्धकमा आन्तरिक प्रतिस्पर्धा गरिन् र नाम निकालिन् ।

त्यसपछि उनले दुई पटक बढुवा पाइसकेकी छन् । अहिले उनी संरचनागत रूपमा प्रभु बैङ्कको तेस्रो बरीयतामा कार्यरत छिन् । भूमिकाको हिसाबले प्रभु बैङ्कको ‘व्याकबोन’ रहेकी उनले ६ वर्षमै धेरै सिनियरहरुलाई “ओभरटेक” गरिसकेकी छिन् । 

बैकिङमा आउनुभन्दा पहिले रश्मिको चाह विश्व बैङ्कजस्ता विकास साझेदार वा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ)हरूमा काम गर्ने थियो । बैङ्क उनको पुरानो रुचि नै होइन । स्नातक सकिने बित्तिकै परिवारले बैङ्कमा जागिर खान आग्रह गर्दा पनि उनले पटक्कै मानिनन् । ‘बैङ्कमा त जाँदै जान्न भनेर बसेकी थिएँ,’ उनी भन्छिन् । वायुमण्डल र पर्वतीय पर्यावरणमा काम गर्ने दक्षिण एसियाली अन्तरसरकारी संस्था इसिमोडमा ‘इण्टर्नशिप’ गरेकी रश्मिले नेपाल उद्योग वाणिज्य महासङ्घमा पनि सार्वजनिक निजी साझेदारी सम्बन्धी ६ महिने परियोजनामा काम गरेकी थिइन् । 

तर उनलाई भाग्यले त्यहीँ डोर्यायो, जहाँ उनी जानै चाहन्नथिन् । संयोगवश भनौँ, उनी प्रभु बैङ्कमा पुगिन् । ‘यहाँ पनि म कोर बैङ्किङ गर्दै गर्दिन, नीति निर्माणमा काम गर्छु भनेर जागिर थालेकी हूँ,’ उनी भन्छिन् । ‘मलाई ‘मोनोटोनस’ काम मन पर्दैन । सधैँ एउटै काम गर्दिन भनेर नै मैले बैङ्किङमा नजाने भनेकी हूँ,’ उनी थप्छिन् । तर बैङ्कभित्र पसेपछि उनले सोचेभन्दा भिन्न वातावरण मिल्यो । त्यहाँ उनले चाहेजस्तै ‘बगैँचामा खेल्न’ पाइन् । 

‘कहिले रणनीति बनाउने, कहिले प्रोफाइल बनाउने, कहिले बजार अध्ययन गर्ने काम पाएँ,’ उनी भन्छिन्, ‘उच्च तहका पदाधिकारीले गर्ने कामहरू मैले गर्न पाएँ । त्यसले मलाई कार्यकारी भूमिकाको अभ्यास गर्ने वातावरण पनि दियो ।’ त्यसपछि बैङ्कभित्र पनि सबै काम दिक्कलाग्दो हुँदैन रहेछ भन्ने उनले थाहा पाइन् । प्रभु बैङ्कमा साढे ६ वर्षको ‘करियर’मा उनले निकै तीव्र फड्को मार्दै अहिले प्रमुख सञ्चालन अधिकृतको भूमिका पाइरहेकी छन् । 

बैङ्कमा छोटो अवधिको पराक्रमले नै उनी उच्च ओहोदामा पुगिसकेकी छन् । सायद यसैले होला उनलाई पुरानो सपनाको कुनै मोह छैन । आईएनजीओ छाडेर बैङ्कमा आउँदा बर्बाद भयो भन्ने हीनताबोध छैन । उनी आफ्नो अरुचिकै पेसामा पनि रमाइरहेकी छन् ।

तयारीको त के कुरा गर्नु ? ‘बैङ्कमा काम गर्ने मान्छेले राजनीति शास्त्र किन पढेको ?’ भनेर हामीले सोध्दा उनको उत्तर यस्तो आयो, ‘यसले राजनीति के हो, विभिन्न मुलुकबिचको सम्बन्ध कसरी विकास भएको छ भन्ने थाहा हुन्छ । भविष्यमा राजदूत भैयो भने काम लाग्छ ।’ उनका तर्कहरू सुन्दा लाग्छ, उनी एक महत्त्वाकाङ्क्षी, तर सक्षम युवती हुन् । 

माेडलिङः चाह हाेइन च्यालेञ्ज !

उनले प्रभु बैङ्ककै केही विज्ञापनमा अभिनय पनि गरेकी छिन् । मृगका जस्ता आँखा, श्याम वर्ण, पातलो शरीर र तीक्ष्ण बुद्धिले उनलाई मोडलिङमा पनि भव्य सम्भावनाको छनक त दिन्छ । तर उनको चासो त्यता छँदैछैन । ‘आफ्नै बैङ्कको प्रडक्टमा गरिदिऊँ न त भनेर अभिनय गरेकी छु, तर मोडलिङमा त्यत्ति रुचि छैन,’ उनी भन्छिन् । हुन पनि गम्भीर र बुद्धिमत्तापूर्ण दायित्व निर्वाह गर्न लालायित उनलाई सौन्दर्यको भिन्न बाटोमा चाख नपर्नु स्वाभाविक नै हो । 

लगनशीलताकाे परिणाम

यो अवस्थामा पुग्न उनले चुपचाप बसेर सम्भव भएको होइन । दैनिक १२ घण्टा काम गरेर आफ्नो क्षमता प्रमाणित गरेपछिमात्रै उनको ‘करियर’ले ‘छलाङ’ मारेको हो । ‘मैले आफ्ना थुप्रै सामाजिक जीवनलाई बलिदान दिएकी छु’, उनी भन्छिन् । एक हिसाबले उनी भाग्यमानी नारी पनि हुन् । उनले बैङ्कमा प्रवेश गर्दा वित्तिकै निकै गजबको अवसर पाइन् । 

‘मलाई सन् २०१६ मै बैङ्कको पाँच वर्षे रणनीति तयार पार्न दिइएको थियो, जुन त्यसअघि कहिल्यै बनाइएको थिएन’ उनी थप्छिन्, ‘मैले त्यो काम ६ महिनामा सफलतापूर्वक गरेँ ।’ त्यही कामले उनीप्रति बैङ्कको सञ्चालक र उच्च व्यवस्थापकको विश्वास जाग्यो । अनि खुल्यो रश्मिको जीवनमा बैङ्किङ करियरको स्वर्ण द्वार ।

६ वर्षअघि उनीसहित सम्मिलित टिमले बनाएको रणनीतिक याेजनामा प्रभु बैङ्क अहिले पनि हिँडिरहेको छ । ‘५ वर्षे प्लान सकिएको छ अब अर्को नयाँ पञ्चवर्षीय याेजना तर्जुमा भएकाे छ,’ रश्मि भन्छिन् । याे नयाँ याेजना तर्जुमामा पनि उनैले नेतृत्व लिएकी छिन् ।  

‘त्यो डकुमेन्ट बनेपछि वाह…. भन्ने अवस्था बन्यो,’ उनी भन्छिन्, ‘त्यसपछि प्रडक्ट पेपरहरू बनाएर देखाऊ भनियो । मैले ती काम पनि सफलतापूर्वक गरेँ । तिनै घटनाले मलाई अघि बढ्न ठुलो सहयोग गर्यो ।’ उनले साढे ६ वर्षअघि जागिर सुरु गर्दा जुन दायित्व र जिम्मेवारी पाएकी थिइन्, ती कुनै पनि काम अहिलेसम्म छाडेकी छैनन् । ‘मैले जिम्मेवारीहरू थप्दै थप्दै लगेकी छु । तर नयाँ जिम्मेवारी पाएपछि पहिलेको जिम्मेवारी छाडेर अघि बढेको छैन,’ उनी भन्छिन् । 

‘ओभर लोड हुँदै छु भन्ने त लागेको छैन ?’ हामीले सोध्यौँ । उनले जवाफ फर्काइन्, ‘आई क्यान डु इट (म गर्न सक्छु) भन्ने चाहिँ लागेको छ ।’ जिम्मेवारीहरू थपिँदै जाँदा उनलाई अझ बढी रमाइलो लाग्छ । चूनौतिहरुसँग पौंठेजोरी खेल्ने उनको चाह अझै अघाएको छैन । अहिले उनीसँग सेन्ट्रल अपरेसन, कम्लायन्स, आइटी, मानव संसाधन, जनसम्पर्कलगायत ९ वटा विभागको जिम्मेवारी छ । तर उनी आत्तिएकी छैनन् । बरु नयाँ र थप जिम्मेवारीको भारी बोक्न तयार भएर उभिएकी छिन् । 

आफूमात्र होइन, नेपालमा बैङ्कको जागिरप्रति धेरै मान्छेले दिलचस्पी देखाएको उनले देखेकी छिन् । ‘बैङ्किङमा मान्छेले पहिलो कुरा त आफूलाई सुरक्षित ठान्दो रहेछ,’ उनी सुनाउँछिन् । बजारमा अरू क्षेत्रभन्दा राम्रो तलब सुविधाले पनि धेरैलाई बैङ्कको जागिरतर्फ तान्न प्रेरित गरेको उनको बुझाइ छ । देशको अवस्थाका आधारमा कमसेकम खान लाउन र बस्न पुग्ने सुविधा बैङ्कले दिइरहेको उनी बताउँछिन् । 

जीविकोपार्जनमा औसतभन्दा राम्रो सुविधा दिने त छँदै छ, माथिल्लो ओहोदामा पुगेपछि निर्णय प्रक्रियामा सहभागी हुँदा भिन्न किसिमको आनन्द लिने मनोबृत्तीले पनि बैङ्कको जागिरले मान्छेलाई तानिरहेको छ । त्यसो त, कतिपय मानिसलाई आफ्नै काममा सधैँ वितृष्ण पनि हुन्छ ।

त्यो मानसिकता बोक्नेको सङ्ख्या पनि बैङ्किङमा छ । ‘यस्तो भए हुन्थ्यो भनेर आकांक्षा राख्ने, तर आफू केही गर्न नसक्ने समस्या सबैतिर हुन्छ,’ उनी भन्छिन्, ‘बैङ्कमा पनि सबै मान्छे सन्तुष्ट नहुन सक्छन् । त्यस्ता मान्छे पनि छन् ।’ यद्यपि, बैङ्किङ क्षेत्रमै ठूलो सम्भावनाको ताज बोकेर उनी अहिले कार्यरत छिन् । 

अहिलेसम्म न त उनलाई बैङ्किङ बोर लागेको छ, न नयाँ क्षेत्रमा जाने भाेक जागेकाे छ । आजको युगमा मान्छेको ‘बरिष्ठता’ उसमा भएको ज्ञान र सिपमा निर्धारित हुन्छ भन्ने मान्यता बोक्ने रश्मिजस्ता युवा नेपाली बैङ्किङको पुरानो पुस्ताका लागि भने ठूलै चुनौती बनेर ठडिएको छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि?

फोहरलाई स्रोतमै वर्गीकरण गर्नु नै पहिलो...

काठमाडौँ र ललितपुर महानगरपालिकामा समुदायमा आधारित वातावरणमैत्री अत्याधुनिक सार्वजानिक शौचालयको निर्माण गर्दै आएको एरोसान सस्टेनेवल स्यानिटेशन संस्थाका कार्यकारी प्रमुख एवं वातावरणविज्ञ प्रकाश अमात्य सरसफाइ व्यवस्थापनका लागि तीन तहका...

फोहरलाई स्रोतमै वर्गीकरण गर्नु नै पहिलो दायित्व : वातावरणविज्ञ अमात्य

शिवालयमा भक्तजनको भीड

साउने सोमबारका अवसरमा पशुपति क्षेत्रलगायत देशभरका शिवालयमा  भक्तजनको भीड लागेको छ ।

आज बिहान ३ बजेदेखि नै पशुपतिनाथ मन्दिरका चार ढोका भक्तजनलाई दर्शन गराउन खुला गरिएको...

शिवालयमा भक्तजनको भीड

चितवनमा दुई अर्ब लगानीमा क्यान्सर अस्पताल...

चितवन - चितवन मेडिकल कलेजले रु दुई अर्ब लगानीमा क्यान्सर अस्पताल निर्माण गरेको छ ।

आगामी दसैँअघि नै सञ्चालनमा ल्याउने गरी सिएमसी क्यान्सर इन्स्टिच्युट तयार गरिइएको...

चितवनमा दुई अर्ब लगानीमा क्यान्सर अस्पताल निर्माण

दिपेन्द्र सोनाम भए द फ्लीक मोडलको...

काठमाडौं - राजधानीमा सम्पन्न भएको द फ्लीक मोडल प्रतियोगितामा दिपेन्द्र सोनाम बिजेता बन्न सफल भएका छन्।

उनले अन्य प्रतिश्पर्धीलाई पछि पार्दै बिजेताको ट्रफी उचाल्न सफल भएका...

दिपेन्द्र सोनाम भए द फ्लीक मोडलको विजेता