१९ कात्तिक, २०८१
    {
समाज / धर्म-संस्कृति र रितिथिति / समाचार

आजदेखि पनौती हिले जात्रा सुरु

  • पुलेसो
  • २०८१, असार ६ बिहीबार
आजदेखि पनौती हिले जात्रा सुरु

काभ्रेपलाञ्चोक - काभ्रेपलाञ्चोकको ऐतिहासिक नगर पनौतीमा एक हजार चार सय २० वर्षदेखि मनाइँदै आइएको हिले जात्रा आजदेखि सुरु हुँदै छ ।

जात्राको परम्पराअनुसार आज साँझ पुण्यमाता खोलामा नागको प्रतीकका रुपमा दुई वटा बाँस तेर्स्याइने र देवगण (दुइचा न्याकेगू)हरु सुस्तरी तरेपछि जात्रा सुरु भएको मानिन्छ । आज राति १० बजे भद्रकालीको रथ तानिनेछ भने रातभरि गैंडू पूजा ९होम गर्ने० पनौती जात्रा मूल व्यवस्थापन समितिले जनाएको छ ।

त्रयोदशीदेखि पूर्णिमाको रात रहुञ्जेल मनाइने हिलेजात्रा सकिएको भोलिपल्टदेखि खेतको काम थाल्ने यहाँको चलन छ । जात्रा सकेर खेतमा रोपाइँ सुरु गर्ने परम्परा पहिल्यैदेखि चलिआएकाले यसलाई हिलेजात्रा अर्थात् नेवारी भाषामा ज्याःपुन्हीसमेत भनिन्छ । जात्रा सकिएको दिन पनौतीमा हावाहुरी चल्ने तथा वर्षा सुरु हुने मान्यता रहिआएको स्थानीय वृद्ध विकुनारायण ताम्राकारले बताए ।

किंवदन्तीअनुसार परापूर्वकालमा यसै समयमा पनौती पारिपट्टिका ब्रह्मायणी र भद्रकालीको पूजा गर्न जान समस्या भएपछि ललितपुरको बुङ्मतीबाट वासुकि नाग पनौती आएर पुण्यमाताको उर्लंदो बाढीमा पुलजस्तै तेर्सो परी देवतालाई तार्ने काम गरेका थिए । त्यसैको स्मरणमा जात्रा सुरु गरिएको विश्वास गरिँदैआएको स्थानीय तुयुकाजी ताम्राकारले बताए ।

तीन दिनसम्म मनाइने यो यहाँको ठूलो जात्रा हो । जात्रा मनाउने क्रममा चतुर्दशीका दिन पनौती नगरका सम्पूर्ण देवीदेवताका मठ मन्दिरमा धुमधाम पूजाअर्चना गरिन्छ । साथै, इन्द्रेश्वर महादेव मन्दिरको पूर्वमा अवस्थित महेश्वर गणेशको मूर्तिलाई खटमा राखी अबिरजात्रा गरी नगरपरिक्रमा गराइन्छ । सोही दिन साँझ भद्रकालीको रथ तान्ने र चक्र पूजा गरिन्छ ।

जात्राको तेस्रो अर्थात् पूर्णिमाको दिन बिहानै बजारमा भद्रकाली, महादेव र इन्द्रेश्वरका रथको भागदौड गराउने र रथ भेटिँदा एकापसमा जुधाउने काम गरिन्छ । यही क्रियाकलापलाई जात्राको मुख्य आकर्षणका रुपमा लिइन्छ । पूर्णिमाको दिन भद्रकालीले ६४ योगिनीको एउटै रुप धारण गरी कामोत्तेजक भई महादेवलाई लखेट्छिन् । महादेव भने त्रिवेणीमा हामफाली लुक्छन् तर त्यहाँ पनि भद्रकालीले नछाडेपछि महादेवले उन्मत्त भैरवको रुप धारण गरी भद्रकालीलाई भगाउँछन् । 

भाग्ने र पिछा गर्ने कार्यका रुपमा अबिरजात्रा गरी रथ जुधाइने गरिन्छ । लखेट्दै गएर भैरवले चौतर्फी घेराबाट भद्रकालीलाई बिचमा पारेपछि पछाडिबाट ठक्कर दिन्छन् भने अगाडिबाट आएका इन्द्रेश्वर महादेवले पनि अगाडिबाटै धकेल्छन् । सोही क्रममा ब्रह्मायणी भने शान्त स्वभाव प्रस्तुत गर्छिन् । धार्मिक विश्लेषणका आधारमा रथ जुधाउने परम्परालाई यौनिक सम्बन्ध प्रस्तुतिका रुपमा लिइएको हो । 

युवायुवती रथ जुधाउन तँछाडमछाड गर्छन् । इन्द्रेश्वर मन्दिरका पुजारी रमेश जङ्गमका अनुसार रथ जुधाइमा कामोत्तेजक कार्य प्रदर्शन गर्नुपर्ने भएकाले पहिले पहिले झिसमिसे अगावै रथ जुधाइने गरिन्थ्यो । विशेषतः काम-क्रीडासँग सरोकार राख्ने जात्रा भएकाले मध्यरातदेखि झिसमिसेको बिचमा समापन गर्नुपर्ने मान्यता रहिआएको थियो । तर पछिल्ला केही वर्षदेखि देवतारुपी रथलाई ठूलो सहभागितामा दिउँसो जुधाउने गरिएको छ । 

 

स्थानीयले मुख्य पर्वका रुपमा मनाउँदै आएका कारण जात्राको अन्तिम दिन नगरपालिकाले सार्वजनिक बिदा दिने गरेको छ । जात्राको परम्पराअनुसार विशेष पूजा सामग्री, सुकुण्डा बोकेर कर्माचार्य(आचाजू)हरु सुस्तरी हिँड्नुपर्छ । यो परम्परालाई नेवारी भाषामा न्ह्यायकेगू भन्ने भनिन्छ । कर्माचार्य खोलापारि गोरखनाथ पुगेपछि नाग आसनबाट उठ्ने भएकाले ती नागराजाको कृपाले पानी र रोपाइँ सफल हुने विश्वास गरिन्छ । 

कुनै वर्ष कारणवश जात्रा रोकेमा पनौतीमा अनिष्ट हुने, खडेरीले दुःख दिनेजस्ता आध्यात्मिक विश्वास मनमा पाल्ने भएकाले जात्रालाई निरन्तरता दिइएको विश्वास गरिँदै आएको छ । जात्रामा चिउली र केरा खाएर घुम किन्नुपर्ने मान्यता छ । यसपछि यी सामग्रीको बिक्री सुरु हुने विश्वास रहिआएको छ ।

स्थानीयले जात्रा अवधिभर आफ्ना पाहुना बोलाई स्वागत सत्कारका साथ भोज गर्छन् । भोजका लागि प्रत्येक घरमा बलि दिने प्रथा अझै कायम छ 

प्रतिक्रिया

छुटाउनुभयो कि?

बेलायत सरकारबाट प्राप्त हुने १३ अर्ब...

काठमाडौँ - सरकारले बेलायत सरकारबाट प्राप्त हुने करिब १३ अर्ब ८ करोड रुपैयाँ बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । 

मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक...

बेलायत सरकारबाट प्राप्त हुने १३ अर्ब ८ करोड रुपैयाँ बराबरको अनुदान स्वीकार गर्ने मन्त्रिपरिषदको निर्णय

आम्दानीको बलियो स्रोत भुइँकटहरखेती

त्रिवेणी (नवलपरासी) - बर्दघाट सुस्तापूर्व नवलपुरको देवचुली नगरपालिका–५ मा पर्ने बन्दीपुरका पाखाहरू अहिले भुइँकटहरले ढाकेका छन् ।

स्थानीयवासी भुइँकटहर टिपेर बजारसम्म पुर्याउन हिजोआज व्यस्त छन् । पहाडी...

आम्दानीको बलियो स्रोत भुइँकटहरखेती

काभा महिला भलिबलको फाइनल हेर्न प्रधानमन्त्री...

काठमाडौँ  - प्रधानमन्त्री केपी शर्मा ओली आज हुने सेन्ट्रल एसियन भलिबल एशोसिएशन (काभा)महिला नेसन्स भलिबल प्रतियोगिताको फाइनल खेल हेर्न जाने भएका छन् । 

उक्त प्रतियोगिता अन्तर्गत...

काभा महिला भलिबलको फाइनल हेर्न प्रधानमन्त्री जाने

स्काउटको नयाँ ऐन बनाउन पहल गर्छु...

काठमाडौँ - युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले स्काउटको नयाँ ऐन बनाउन पहल गर्ने बताए।

मङ्गलवार लैनचौरस्थित स्काउटले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री चौधरीले  भने, “स्काउट...

स्काउटको नयाँ ऐन बनाउन पहल गर्छु :  खेलकुदमन्त्री चौधरी