पर्वत - उत्तरी पर्वतको जलजला गाउँपालिका–६ शालिजाका किसानले मौसमी तथा बेमौसमी सागसब्जी बेचेर वार्षिक रु पाँच करोडभन्दा बढी भित्र्याउन सफल भएका छन् ।
जिल्लाको सबैभन्दा उच्च भेगमा रहेको शालिजाका अधिकांश किसानले व्यावसायिक रूपमा सागसब्जी लगाउने गरेका छन् । कृषि ज्ञान केन्द्रमार्फत सागसब्जी उत्पादनको पकेट क्षेत्रका रूपमा विकास गरिएको शालिजामा मौसमीभन्दा बेमौसमी सागसब्जी बढी उत्पादन हुने भएकाले किसानको आम्दानी बढेको हो ।
व्यावसायिक सागसब्जी उत्पादन गर्न थालेपछि यहाँका किसानको जीवनस्तरमा परिवर्तन आएको छ । यहाँ उत्पादन भएको आलु, काउली, बन्दागोभी, बोडी, सिमी, लौका, डल्ले खुर्सानी, काँक्रोलगायत ताजा सागसब्जी छिमेकी जिल्ला म्याग्दीको सदरमुकाम बेनी, पर्वतको कुश्मा, बागलुङ बजार र पोखरासम्म बिक्री हुने गरेको स्थानीय किसान बुद्धि सुवेदीले जानकारी दिए ।
माथिल्लो शालिजा, तारे, पातलखर्क, ओख्रेनी र तल्लो शालिजाको भोटेडाँडा, दीप, स्वारा, गामलगायत स्थानमा आलु र ताजा सागसब्जी उत्पादन गरिँदै आएको छ । शालिजाका अधिकांश किसानले अन्नबाली छाडेर ताजा सागसब्जी उत्पादन गर्दै आएका छन् । उनीहरूको खेतबारी कहिल्यै बाँझो रहँदैन । हरेक मौसममा विभिन्न सागसब्जीले हरियाली छाएको देखिन्छ ।
मगर समुदायको बाहुल्य रहेको यस गाउँमा सडकको पहुँच पुगेपछि व्यावसायिक सागसब्जी खेतीमा लाग्ने किसानको आकर्षण बढेको सुवेदीले बताए । उच्च भाग, चिसो हावापानी र खेतीयोग्य जमिन भएकाले यहाँ आलु र मौसमी तथा बेमौसमी सागसब्जी उत्पादन हुँदै आएको छ ।
शालिजाका आठ सय परिवार व्यावसायिक सागसब्जीखेतीमा संलग्न भएका जिल्ला कृषि ज्ञान केन्द्रले जनाएको छ । सागसब्जीखेती गरेर यहाँका किसानले वार्षिक रूपमा न्यूनतम रु दुई लाखदेखि रु १० लाखसम्म आम्दानी गर्दै आएका छन् । पछिल्लो समय जलजला गाउँपालिकाले आलुको बीउको स्रोत केन्द्रका रूपमा यो ठाउँलाई विकास गरेपछि स्थानीय किसानको आलुलगायतका सागसब्जी उत्पादनमा झनै आकर्षण बढेको हो ।
आलु बिक्री गरेर मात्र गाउँमा करिब रु एक करोड भित्रिने गरेको स्थानीय किसान तथा शालिजाका पूर्ववडाध्यक्ष होमबहादुर पुनले जानकारी दिए । पुस, माघमा लगाएको आलुखेतीले यतिखेर गाउँ नै भरिएको छ । अहिले आलु खनेर बजार पुर्याउन स्थानीयलाई भ्याइनभ्याई भएको उनले बताए ।
यहाँका अधिकांश किसानले व्यावसायिक सागसब्जीखेती गरेर राम्रो आम्दानी लिएको जलजला गाउँपालिका–६ शालिजाका पूर्ववडाध्यक्ष पुनले बताए । राम्रो सिँचाइ र उत्पादित कृषि उपजको बजारीकरणमा सरकारी निकायले सहयोग गरे अझै ताजा सागसब्जी उत्पादन वृद्धि हुने पुनले बताए ।
शालिजा गाउँमा एउटै किसानले २५ मुरीदेखि ५० मुरीसम्म आलु फलाउने गरेको अर्का किसान वीरबहादुर पुनले जानकारी दिए । उनका अनुसार शालिजामा आलुमात्रै बिक्री गरेर रु दुई लाखदेखि छ लाखसम्म कमाउने गर्दछन् । विगत १४ वर्षदेखि निरन्तर आलुखेती गर्दै आएका पुनले उत्पादन भएको आलु बिक्रीका लागि कुनै समस्या नभएको र पोखरा, काठमाडौँ, कुश्मा, बागलुङबाट माग आउने बताए ।
घरबाटै बीउ आलुलाई रु दुई सयदेखि दुई सय ५० पाथीमा बिक्री गर्न सकिने उनले भने । “शालिजामा उत्पादन भएको आलुको मुख्य बजार पोखरा हो, त्यसपछि बागलुङ, कुश्मा र बेनी जान्छ”, उनले भने । मिलनचोक–शालिजा सडक स्तोरन्नति भए आलु ढुवानीमा सहज हुने उनले बताए ।
जलजला गाउँपालिकाले आलुको बीउमा आत्मनिर्भर बनाउन बीउ उत्पादनलाई जोड दिएको गाउँपालिका अध्यक्ष राजुप्रसाद आचार्यले बताए । उनले गाउँपालिकाले व्यावसायिक रूपमा सागसब्जी लगाउने किसानलाई प्रोत्साहनस्वरुप तालिम, उपकरण र बीउमा अनुदान दिँदै आएको बताए।
महेन्द्रनगर । कञ्चनपुरमा मलामी गएका एक युवक डुबेर बेपत्ता भएका छन् । जिल्लाको भीमदत्त नगरपालिका वडा ३ तिलकपुरका २८ वर्षीय सनि दमाईं महाकाली नदीमा डुबेर बेपत्ता भएका हुन् ।
जिल्ला...
महेन्द्रनगर । जिल्ला निर्वाचन कार्यालयका अनुसार यहाँ दुई हजार ६५२ मतदाता थपिएका छन्।
राष्ट्रिय परिचयपत्रका आधारमा एक हजार आठ सय ४८ र बायोमेट्रिका आधारमा आठ सय चार मतदाता थपिएका निर्वाचन...
काठमाडौं । एसीसी यू–१९ प्रिमियर कपको फाइनलमा नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई) बीचको उपाधि भिडन्त सुरु भएको छ।
आजको निर्णायक खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय...
काठमाडौं । बाजुरा सदरमुकाम मार्तडी बजारमा आगलागी भएको छ । बजारको एक पसलमा लागेको आगो निभाउने प्रयास भइरहेको छ । जिल्ला प्रहरी कार्यालय बार्तडीका सूचना अधिकारी लक्ष्मीराज जोशीका अनुसार दिउँसो करिब...
प्रतिक्रिया