-प्रकाश कलौनी/कञ्चनपुर । “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ कञ्चनपुरको वेदकोट नगरपालिकामा छैठौँ वेदकोट नगरस्तरीय तथा १६औँ राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता साथै प्रथम आधारभूत तह नगरस्तरीय खेलकुद प्रतियोगिता शुक्रबारदेखि सुरु भएको छ। प्रतियोगिता वेदकोट नगरपालिका–६ सिसैयास्थित भुवनेश्वरी माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजना गरिएको छ।
प्रतियोगितामा नगरपालिकाभित्र रहेका ३४ वटा सामुदायिक तथा संस्थागत विद्यालय सहभागी रहेका छन्। विद्यार्थीहरूबीच विभिन्न खेलकुद विधामा प्रतिस्पर्धा हुँदै खेल प्रतिभा छनोट गर्ने उद्देश्यले प्रतियोगिता सञ्चालन गरिएको आयोजकले जनाएको छ।
उद्घाटन कार्यक्रममा वेदकोट नगरपालिकाका खेलकुद समिति अध्यक्ष प्रजापति भट्ट सभाध्यक्ष रहनु भएको थियो भने नगर प्रमुख भोजराज बोहरा प्रमुख अतिथि रहनु भएको थियो। विशिष्ट अतिथिमा नगर उपप्रमुख तुलसी जोशी, निवर्तमान नगर प्रमुख अशोक कुमार चन्द, प्रमुख प्रशासकिय अधिकृत हरिदत्त भट्ट, जिल्ला खेलकुद समिति अध्यक्ष कुवेर खड्का, ओलम्पियन डम्बर दत्त भट्ट लगायत रहेका थिए। कार्यक्रममा विभिन्न वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्य, शिक्षक–शिक्षिका, विद्यार्थी तथा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
भुवनेश्वरी माध्यमिक विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रवीण बोगटीले राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता दोस्रो पटक आफ्नै विद्यालयमा आयोजना हुन पाएकोमा खुसी व्यक्त गर्नुभयो। उहाँले यस वर्षदेखि आधारभूत तहलाई पनि समेटेर प्रतियोगिता आयोजना गरिएको र विगतको अनुभवका आधारमा खेल मैदान विस्तार तथा व्यवस्थापन गरिएको बताउनुभयो।
वेदकोटका नगर प्रमुख भोजराज बोहराले खेलकुदले शैक्षिक विकाससँगै राष्ट्रका लागि सक्षम खेलाडी उत्पादन गर्ने आधार तयार गर्ने बताउनुभयो। उहाँले वेदकोट नगरपालिका पछिल्लो समय खेलकुदमय वातावरणमा परिणत भएको उल्लेख गर्दै उप–मेयर कप भलिबल प्रतियोगिताबाट सुरु भएको खेलकुद महोत्सवलाई सबैले रमाएर सफल बनाउन आग्रह गर्नुभयो।
नगर उपप्रमुख तुलसी जोशीले राष्ट्रपति रनिङ शिल्ड देशको गौरवसँग जोडिएको खेलकुद कार्यक्रम भएको उल्लेख गर्दै खेलमार्फत विद्यार्थीहरूले आफ्नो आत्मबल र आत्मविश्वास बढाउने अवसर पाउने बताउनुभयो। उहाँले विशेष गरी बालबालिका र किशोर–किशोरीको समग्र विकासमा खेलकुदको भूमिका महत्वपूर्ण रहेको धारणा राख्नुभयो।
त्यस्तै, निवर्तमान नगर प्रमुख अशोक कुमार चन्दले यस्ता प्रतियोगिताबाट छनोट भएका खेलाडीहरूले भविष्यमा जिल्ला, प्रदेश, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने क्षमता विकास गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले खेलकुदलाई निरन्तरता दिन स्थानीय तहको भूमिका महत्वपूर्ण हुने बताउनुभयो।
वेदकोट नगरपालिकाका खेलकुद समिति अध्यक्ष प्रजापति भट्टले नगरस्तरमै प्रतिभा पहिचान गरी राष्ट्रपति रनिङ शिल्डमार्फत उच्च तहसम्म पुर्याउने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको बताउनुभयो।
मार्चपास प्रतियोगिताअन्तर्गत आधारभूत तहमा प्रथम स्थान शिद्धनाथ आधारभूत विद्यालय, द्वितीय नवदुर्गा आधारभूत विद्यालय र तृतीय लिटिल एन्जल एकेडेमीले हासिल गरेका छन्। त्यसैगरी, माध्यमिक तहमा प्रथम क्यासपियन एकेडेमी, द्वितीय वेदान्त विद्या मन्दिर र तृतीय अरनिको इङ्ग्लिस बोर्डिङ स्कुल भएका छन्।
नगरपालिकाले प्रतियोगिताबाट उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी छनोट गरी जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि टोली तयार गर्ने जनाएको छ।
भुवन भट्ट/महेन्द्रनगर । कञ्चनपुरमा जेनजी समूहका युवाहरूले आत्मिक प्रतिबद्धता गर्दे सार्वजनिक क्षेत्रमा उठबस गरेका छन् । शुक्रबार साँझ जेनजी समूहका झन्डै ३० बढी किशोर तथा युवाहरूले आत्मिक प्रतिबद्धता गर्दै १०...
खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाले बाँझो जमिन उपयोगमा ल्याउँदै पहिलो पटक ११ मुरी तिते फापर उत्पादन गरेको छ। गाउँपालिकाले कार्यान्वयनमा ल्याएको ‘रैथाने बाली प्रवद्र्धन कार्यक्रम’अन्तर्गत विनियोजन गरिएको रु एक लाख बजेटबाट...
बागलुङ । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ। सुन्तला खेतीप्रति किसानको आकर्षण बढेसँगै उत्पादन बढेको हो। गत वर्षको तुलनामा यस वर्ष रु ४४ लाख...
काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशन सकेर शेरबहादुर देउवाको आशीर्वाद लिन जानुपर्ने बताएका छन्।
बुधबार भृकुटीमण्डपमा विशेष महाधिवेशनस्थलबाट बोल्दै उनले देउवाको आशीर्वाद लिन जानुपर्ने भएकाले कसैलाई पनि...
प्रतिक्रिया