१२ मंसिर, २०७८
    {
विचार

चिटिक्कै भाछु रे यो पोते र चुराले

  • पुलेसो
  • २०७८ भदौ २४ बिहीबार
चिटिक्कै भाछु रे यो पोते र चुराले

विश्वव्यापीकरण र सांस्कृतिक साम्राज्यीकरणको प्रभावले खानपान भेषभुषा, गीत नाँच सबैमा परिवर्तन भएको छ।


तीज र मामाघर कुनै समय पर्यायवाची हुन् कि जस्तो लाग्दथ्यो। तर आज विगत फर्केर हेर्दा आफूले बाँचेको समय र परिवेश कतै दन्त्य कथाका पात्रहरू त थिएनन् भन्ने लाग्छ। रूपातालको छेउदेखि बैदामसम्मको मामाघर पुग्न पनि अनेकौं चुनौति थिए। बस समात्न पृथ्वी राजमार्ग नपुगी धरै थिएन। वर्षायाममा तीनचार वटा खोला नतरी राजमार्ग नपुगिने। ताल खोलामा गतिलो पुल थिएन। खुदी खोलो (बेगनास तालबाट निस्कने) मात्र तीन ठाउँमा तर्नु पर्दथ्यो। कुनै वर्ष माइत जान हिँडेका दिदीबहिनी खोलो बढ्दा तर्न नसकेर फर्किनु परेको सुन्थ्यौं। गीत पनि त्यस्तै गाइन्थे, ‘तीजको बेलीमा माइत जाँदाखेरी, अँधेरी खोलाले लग्यो बरिलै।’

बुबा घरदेखि टाढाको विद्यालयमा पढाउने भएकाले हप्ता दस दिनमा मात्र घर आउनुहुन्थ्यो। आमा ससाना छोराछोरीसहित गोठमा नटुट्ने दुहुनो भैंसीमा व्यस्त। घरवरपरको खेतीबाली, घरायासी धन्दाले आमालाई बिरलै फुर्सद दिन्थ्यो। भेटघाट, सुखद:ुख साटासाट आदि रमाइलो सम्झेर होला, एकदुई दिनका लागि घाँस पुर्‍याएरै भने पनि आमा माइत जानुहुन्थ्यो। उता हजुरआमा पटक पटक दोहोर्‍याइरहनु हुन्थ्यो, ‘मेरो सास छइन्जेल चाडबाडमा सबै सन्तान आइदेओ न बाबै।’ तीजमा आमा मात्र होइन, कैयन आमा, दिदीबहिनी त्यसैगरी माइतीको आँगनीमा टेक्न हतारिन्थे होलान्। सायद त्यसैले होला घरबाट माइत जान छुट्टी नपाउँदाको अत्यास, खोलानाला तरेर, पहाड चढेर जाँदाका भोगाइहरू मनभरि भएर घाँस, दाउरा काट्न जाँदा मनका वह गीतमार्फत वनभरि पोखिन्थे।

कुनै समय लोकपरम्परामा आधारित तीजका गीतहरू पहाडी क्षेत्रका महिलाको सामाजिक इतिहासका दस्तावेजसमेत हुन्। अझै पनि तीजका तीन दिनका लागि घाँस पुर्‍याएर माइती हिँड्ने महिला ग्रामीण समाजमा यत्रतत्र छन्।

 

सानैदेखि नेपाली समाजमा छोरालाई बाहिरी व्यवहार र बुहारीलाई घरायसी व्यवहार सिकाउने सामाजिकीकरण यद्यपि छ। सानैमा बिहे भई पढ्न नपाउँदा र घर गरेर खाँदाका वेदना पल्लोघरकी हजुरआमा टुक्कामार्फत यसरी जोड्नु हुन्थ्यो : आफूभन्दा सानो भाइ जागिर खान्छ जुम्ला तिमी हामी मरेपछि न्याउली चरी हुम्ला।

उता जनैपूर्णिमा लगत्तै साँझ परेपछि वल्लो, पल्लो पाखामा सुरिलो भाकामा तीजे गीत घन्किन थाल्थे। आमा सानीआमाहरू जम्मा भई दिनभर घोक्रो फुलाई फुलाई थपडी बजाएर थाकेको शरीरको बेवास्ता गर्दै नाँच्दै गाउँदै गर्नु हुन्थ्यो। केटाकेटी पनि गीतको भाकामा भाका मिलाउन पाउँदा निकै रमाउँथ्यौं। त्यो समय अहिले जस्तो प्रशस्त मनोरञ्जनका साधन थिएनन्। न त लगाउन लुगाफाटा, गहना, गुरियाका रोजाइ र उपलब्धता। छोरीबुहारीलाई तीजकै बहानामा वर्ष दिनमा फेरिदिने गरिन्थ्यो। तीजको दरमा खाइने परिकार पनि विशुद्ध स्थानीय उत्पादन दूध, दही, खिर, चाम्रे, लट्टे आदि हुन्थे। तीजको दिन राजाको चौतारा, गगन गौंडा, दुलै गांैडाजस्ता ठाउँमा महिलाहरू समूह समूह बनाएर नाच्ने गाउने गर्दथे। त्यतिबेलाको समाजमा धेरैजसो महिला घरको कामकाज, सन्तान उत्पादन, भातभान्सामा मात्र सीमित भएकैले पनि गीतमा समेत घरका बुहार्तन, माइतीका हेला, मनका पिरवेदना, भोगाइ बढी नै सुनिन्थे।

धनी घर राजै दियौ भन्थ्यौ बाबाले
मै छोरीलाई पर्‍यो आज ठूलो मरिम।

बिस्तारै अलिक ठुली भएपछि तीजमा मामाघर जानभन्दा वरपरका साथीभाइसँग रमाइलो गर्ने, आमालाई मामाघर पठाएर घरायासी काममा सघाउन थालियो। एक वर्ष बेगनास तालमा नहर बन्न सुरु गरेको विषयवस्तु समेटेर साथी जमुना अधिकारीले रचना गरेको गीत केटाकेटी हुँदा तीजका दिन जम्मा भई गाएको सम्झना ताजै छ :

२०४५ साल फागुनको महिना
बेगनास तालमा नहर खन्न आयो चाइना।

छोरीलाई छोरासरह शिक्षा दिनुपर्ने, छोराछोरीमा भेदभाव गर्न नहुने, छोरासरह नै छोरीहरू पनि सबै काम गर्न सक्षम हुने गीतहरू गाइन्थे। केही वर्ष यस्ता गीत गाइयो। अर्को वर्ष अझ माहौल नै जुरुक्क उचाल्ने गीत सृजना गर्नुपर्छ भनी कक्षामा केटी साथीबिच छलफलसमेत हुन्थ्यो। विस्तारै देशमा बहुदलीय व्यवस्थाको स्थापनासँगै तीज मनाउने, मान्ने स्वरूप र प्रकृतिमा हाम्रातिर पनि परिवर्तन देखिन थाल्यो। राजनीतिक प्रभावले मानिसका आर्थिक तथा सामाजिक हैसियतमा बदलाव ल्यायो। आमा समूहहरू, सामुदायिक वन उपभोक्ता समिति गठन भए। निरक्षरहरूका लागि साक्षरहरूले प्रौढ शिक्षा पढाउन थाले। वैदेशिक रोजगारको प्रभाव, उत्पादनको क्षेत्रमा देखिएको विविधतासँगै  महिलाहरू कृषिकर्मबाट केही संख्यामा भए पनि बाहिरिन थाले।

तीजका गीतका भाकाहरू किताबमा छापिएर गाउँ गाउँ पुग्न थाले। त्यस्तै राजनीतिक पार्टीका भातृ संगठनहरूले समेत तीजलाई राजनीतिक रूपमा महिलालाई सचेत गराउने थलोका रूपमा प्रयोग गर्न थाले। वरिष्ठ लोकगायिका एवं प्राज्ञ हरिदेवी कोइरालाको स्वर, शब्द र लयमा रहेको यस तीजे भाकाले  महिलालाई यथास्थितिबाट अगाडि बढ्न प्रेरणा दिन्छ :

आउ चेली बिउँझ भो संसारलाई हेर्न
अब त पर्छ भो काँचुली नै फेर्न।

 

तीज एक प्रकारको महिलाका हकहित, चेतना र समानताका आवाज उठाउने अवसरका रूपमा समेत परिचित थियो। कतिपय तीजका गीतहरू घरपरिवारबाट बाहिर निस्केर घटनाप्रधान सुनिन थाले। गीतमा दरबार हत्याकाण्ड, जातीय तथा लैंगिक विभेद, भ्रष्टाचार, हत्याहिंसाका घटना आदि हुन्थे। रेडियो पनि विरलै सुन्न पाइने त्यो समयमा कतिपय घटना गीतले सूचना र सञ्चारको काम गर्दथे। कतिपय गीत मनोरञ्जनपरक त कतिपय आलोचनात्मक हुन्थे। एक वर्ष किताब हेरी हेरी गाएको वरिष्ठ लोकगायिका कोइरालाको गीत यस्तो थियो :

भृकुटी र सीताजस्ती नारीको यो देशमा
यो देशका चेलीबेटी बेचे विदेशमा।

 

बदलिएको तीज
विकासको केन्द्रिकृत ढाँचा अपनाएको देशमा विकास सहर केन्द्रित बन्यो। शिक्षा, स्वास्थ्य, रोजगार आदिका बहानामा त कतै माओवादी आन्दोलनका नाउँमा गाउँ छाडेर सहरमा थुप्रिनेको संख्या दिनानुदिन बढ्न थाल्यो। सहरमा आर्थिक गतिविधि बढ्न थाले। ससाना बजारमा समेत पार्टी प्यालेस, रेष्टुरेन्ट खुल्न थाले। समूहमा झुरुप्प भेला भई गाउने गीत मञ्चबाट प्रतियोगिताका रूपमा गाइन थाले। गीतका भिडियोमा महिला मात्र होइन, पुरुष पनि स्वरमा स्वर मिलाउँदै सजिएर भिडियोमा देखिन थाले। तीजको अवसरमा मेला महोत्सव आयोजना हुन थाले। पुँजीवाद र बजार अर्थतन्त्रले नेपाली महिलाको चाड तीजलाई पनि समात्यो।

चिटिक्कै भाछु रे यो पोते र चुराले
मै छक्क परे मै मख्ख परे संगीको कुराले।

तीज पर्व सहरतिर सामूहिक रूपमा मनाउन थाले। तीजको संस्कृति र शैली जीवनदेखि गायनसम्म अचम्मैलाग्दो पाराले फेरियो। एकातिर सामाजिक, सांस्कृतिक विविधता अर्कोतिर व्यक्तिगत स्वतन्त्रताका नाउँमा सुनका गरगहना र झल्कने सारीको प्रभाव बढ्दै गयो। नक्कली गहनाको व्यापार बढ्यो। पोखराका तेर्सापट्टि मात्र रहेका सुनपसलहरू भटाभट महेन्द्रपुल र अन्यत्र खुल्दै गए। दरको स्वाद र स्वरूपमा फेरबदल आयो। माइतीमा आफ्नै घरमा मात्र खुवाइने दर घरकै अन्य सदस्य ठूलाबा, कान्छाबा, फुपू आदिले समेत बोलाउने फेसन बढेको छ। यसरी एक दिने दर महिने भई भ्याइनभ्याइको अवस्था हुन थाल्यो।

सुनको टिकी लाएर म त राम्री भएर

सल्ल बल्ल खानी हो माइत गएर।।

कुनै समय लोकपरंम्परामा आधारित तीजका गीतहरू पहाडी क्षेत्रका महिलाको सामाजिक इतिहासका दस्तावेजसमेत हुन्। अझै पनि तीजका तीन दिनका लागि घाँस पुर्‍याएर माइती हिँड्ने महिला ग्रामीण समाजमा यत्रतत्र छन्। आजका सचेत र सहरिया महिलालाई दौतरी र माइती भेटन, खुसी हुन तीज नै कुर्न पर्दैन। भेटघाट गर्ने बिभिन्न माध्यम कार्यक्रम, गोष्ठी र अवसर भइरहन्छन्। गाउँघरमा पनि विभिन्न बहानामा आमा समूह, टोल समूह आदिमा समेत बाक्लै दिदीबहिनी घरका धन्दा भ्याएर सामेल हुन्छन्। सञ्चारका साधनको विकास, यातायातका साधनको सुविधा आदिका कारण माइती चेली सहजै सम्पर्क र सम्बन्धमा रहन्छन्। आर्थिक समस्या समाधानकै लागि पुरुषको भर पर्नुपर्दैन। विश्वव्यापीकरण र सांस्कृतिक साम्राज्यीकरणको प्रभावले खानपान भेषभुषा, गीत नाँच सबैमा परिवर्तन भएको छ।

तीजका दर खाने कार्यक्रममा अपनत्व घटेको, मौलिकता धरापमा पर्न लागेको, गानाबजानामा छाडापन आएको त होइन ? अनौपचारिक मायाप्रेम र सद्भावले भरिएको चाड तीज बढी औपचारिक, फोटो खिच्ने, देखाउने, जमघटको स्थल त भएन ? तीजलाई कतै भड्किलो र हुनेखानेको मात्र चाड बनाउने दुस्प्रयास त गरिएको छैन ? भन्ने प्रश्नहरूले झक्झकाउन थालेका छन्। एक दिने तीज महिने भयो भनेर अस्तिसम्म गुनासो गर्नेलाई विवाह गरेर गएका छोरीचेलीहरू माइत आएर भेटघाट, आँगनीमा नाचगान गर्नु आदि कोरोनाले बिरानो बनाइदिएको छ। अबको पुस्तालाई तीजे गीत सुन्न, हेर्न युट्युब नै खोल्नुपर्ने बाध्यता छ। उनीहरूलाई हाम्रा चाडपर्व, स्थानीय सीप, साधनस्रोत, सामाजिक सांस्कृतिक पहिचान गराउनु जरुरी छ। अन्यथा हाम्रा मौलिकता, आफ्नोपन र सौन्दर्य लोप भई भोलिको संस्कृति धमिलो हुनसक्छ।

प्रतिक्रिया

छुटाउनुभयो कि?

आठ जना एसएसपीमा बढुवाका लागि सिफारिस

काठमाडौं : गृह मन्त्रालयले नेपाल प्रहरीका आठजना एसपीलाई एसएसपीमा बढुवाका लागि सिफारिस गरेको छ। 

आठ जना एसएसपीमा बढुवाका लागि सिफारिस

वेपत्ता युवा छ दिनपछि मृत फेला

 
खोटाङ, ५ मंसिर

खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासे भुल्केका ३३ वर्षीय अस्विन राई मृत फेला परेका छन् । उदयपुरको रौतामाई गाउँपालिकाको छाम्लिङ आँपडाँडाबाट गत २९ कात्तिक रातिदेखि बेपत्ता...

वेपत्ता युवा छ दिनपछि मृत फेला

रौतहटमा कार दुर्घटनामा चार जना भारतियको...

काठमाडौं : रौतहटमा कार दुर्घटनामा परी चार जना भारतियको मृत्यु भएको छ। 

रौतहटमा कार दुर्घटनामा चार जना भारतियको मृत्यु

प्रधानन्यायाधीशले तोके १० इजलाश

काठमाडौं : सर्वोच्च अदालतमा आजका लागि दश इजलास तोकिएको छ। 

प्रधानन्यायाधीशले तोके १० इजलाश