१७ चैत, २०७९
    {
घुमफिर / समाचार

पर्यटक आकर्षणको केन्द्र बन्दै बागलुङको रिगताल

  • पुलेसो
  • २०७९ मंसिर ०२ शुक्रबार
पर्यटक आकर्षणको केन्द्र बन्दै बागलुङको रिगताल

ढोरपाटन  -  उच्च पहाडको शिरमा छ रिगताल । चिसो हावापानी, शान्त वातावरण र मनै लोभ्याउने चराचुरुङ्गीको चिरबिर आवाज । आन्तरिक पर्यटकको चहलपहल भइरहने पातीहाल्ने र रिगताल यतिबेला धेरै पर्यटकलाई स्वागत गर्न कुरिरहेका छन् । निसीखोलाको शिर मानिने रिगतालबाट देखिने मनमोहक दृश्यले हजारौँलाई लोभ्याएको छ । पातीहाल्ने र रिगतालको सौन्दर्यसँग रमाउन पछिल्लो समय दैनिक सयौँ पर्यटक यहाँ आउने गरेका छन् ।

गण्डकी प्रदेशको निसीखोला गाउँपालिका र लुम्बिनी प्रदेशको पूर्वी रुकुमको सिमानामा रहेको यो ताल निसीखोला गाउँको चिनारीका रूपमा लिइन थालिएको छ । जब राष्ट्रिय गौरवको आयोजना मध्य पहाडी लोकमार्गले जोडियो, तब यसको प्रचार–प्रसार तीव्र रूपमा हुन थाल्यो । गोठालेले पानी पिउन प्रयोग गर्दै आएको रिगताल पर्यटकीय गन्तव्यका रूपमा विकास हुने परिकल्पना स्थानीयवासीले गरेका थिएनन् । अहिले यो क्षेत्र नै पर्यटकका लागि आकर्षणको केन्द्र भएको छ । 

सो क्षेत्रमा पुस–माघमा पर्यटक गाडी लिएरै हिउँ खेल्न र वैशाख, जेठ र असारमा गर्मी छल्न र हरियाली प्रकृतिसँग रम्न जाने गर्छन् । स्थानीय विकास घर्ती मगरले लोकमार्ग कालोपत्र भएपछि यहाँ पर्यटकको आगमन बढेको बताए । “पहिले–पहिले त यहाँ खासै मान्छे आउँदैनथे, यो ठाउँमा गोठालाले भेडा बाख्रा र गाई भैँसी चराउने गर्थे, मोटर बाटो कालोपत्र भएपछि त दैनिक सयौँ मान्छे गाडी लिएर घुम्न आउने गरेका छन्, अहिले त ताल पनि राम्रो बनेको छ, पहिलेको जस्तो छैन ।”

यहाँ अहिले सडकले गर्दा बस्ती विस्तार हुन थालेको छ । उनले भने, “अझै पनि यहाँबाट गोठालाले पानी भरेर उपयोग गर्ने गर्छन्, यो अहिले व्यवस्थित भएको छ, गाउँपालिकाले संरक्षण गर्न थालेको छ, पर्यटक आउन थालेका छन् ।” पातीहाल्ने मध्य पहाडी लोकमार्गमै पर्छ भने रिगताल पातीहाल्नेबाट १५ मिनेट उत्तरतर्फ पर्छ । अहिले उक्त तालसम्म पुग्नका लागि निसीखोला गाउँपालिकाले सडक निर्माण गरेको छ । जसले गर्दा पैदल र गाडीमा पनि सहजै तालमा पुग्न सकिन्छ । 

ताललाई व्यवस्थित गराउनका लागि निसीखोला गाउँपालिकाले पूर्वाधार निर्माण गर्न थालेको गाउँपालिका अध्यक्ष सूर्यबहादुर घर्तीमगरले बताए । गाउँपालिकाले यस क्षेत्रको प्रचार–प्रसार र पूर्वाधार निर्माणका गर्न थालेको अध्यक्ष घर्तीमगरको भनाइ छ ।उनले यसको विकासका लागि डिपिआर तयार पारेको, तालसम्म पुगको सडकलाई व्यवस्थापन गर्ने र ताललाई फराकिलो बनाउने योजना बनाएको बताए ।

“ताललाई थप आकर्षक बनाउन केही फराकिलो बनाउने, त्यस वरपर व्यवस्थित पार्क निर्माण गर्ने गरी योजना बनाएका छौँ, केही काम भएका छन् भने थप कामका लागि अबको बजेटबाट गर्ने छौँ, यहाँका समस्या समाधान गरेर यस क्षेत्रको विकास गर्ने खाका तयार पारिसकेका छौँ, केही समयपछि यहाँ पूर्वाधार निर्माण हुनेछन् ।”

 

रुकुम पूर्वको सदरमुकाम रुकुमकोटबाट घुम्न आउनुभएका प्रवेश केसीले सामाजिक सञ्जालमा निकै भाइरल भएकोले हेर्न आएको बताए । उनले यो ठाउँमा आउने सडक पनि राम्रो भएको हुँदा बिदाको दिनमा घुम्न आउन सकिने बताए । उनले भने, “ यो ताल निकै रमणीय रैछ, मैले त फेसबुकमा देखेको थिएँ, अहिले यहाँ प्रत्यक्ष उपस्थित भएर घुम्न पाउँदा निकै ‘एक्साइटेड’ भएको छु ।”

रिगतालको नाम खास गरी मगर खाम भाषाबाट बनेको हो । ‘रि’ को अर्थ पानी र ‘ग’ को अर्थ गहिरो अर्थात् एकै ठाउँ जमेको भन्ने बुझाउँछ । यस तालबाट बागलुङ जिल्लाको विभिन्न स्थान, रोल्पा, रुकुम, गुल्मी, प्युठान, अर्घाखाँची, पर्वतलगायतका ठाउँको दृश्य देख्न सकिन्छ । माछापुच्छ्रे, अन्नपूर्ण, धवलागिरिलगायतका दर्जनौँ हिमशृङ्खला र उच्च पहाडी क्षेत्रको मनमोहक दृश्य अवलोकन गर्न सकिन्छ ।  

प्रतिक्रिया

छुटाउनुभयो कि?

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीद्वारा...

काठमाडौं  - प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतदान गरेका छन् ।उनले भक्तपुरको सूर्यविनायक नगरपालिकाको बालकोटस्थित महेन्द्र शान्ति माध्यमिक विद्यालयमामा अवस्थित  क्षेत्र नं ‘क’ केन्द्रमा...

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीद्वारा मतदान

मतपरिणाम एमालेको पक्षमा आउँछ  : ईश्वर...

काठमाडौं  -  नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष एवं काठमाडौं क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार ईश्वर पोखरेलले टोखा नगरपालिका वडा नम्बर ६ कार्यालयस्थित धापासी बुथमा मतदान गरेका छन्...

मतपरिणाम एमालेको पक्षमा आउँछ  :  ईश्वर पोखरेल

निर्वाचन प्रतिकूल प्रभाव पार्ने कार्य नगराउन...

काठमाडौं -  निर्वाचन आयोगको केन्द्रीय आचारसंहिता अनुगमन समितिले कुनै उम्मेदवार र राजनीतिक दलले अस्वाभाविक गतिविधि वा भोजभतेर गरेको वा शान्ति भङ्ग गर्नेजस्ता निर्वाचनलाई प्रतिकूल प्रभाव पार्ने कार्य नगराउन...

निर्वाचन प्रतिकूल प्रभाव पार्ने कार्य नगराउन  निर्देशन

निर्वाचनको ऐतिहासिक महायज्ञलाई सफल पार्नु सबैको...

काठमाडौं  -  प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको ऐतिहासिक महायज्ञलाई सफल पार्नु सबैको दायित्व भएको बताए ।

...
निर्वाचनको ऐतिहासिक महायज्ञलाई सफल पार्नु सबैको दायित्व हो : प्रधानमन्त्री देउवा