मन्थली (रामेछाप) - यहाँको रामेछाप नगरपालिका–२ सुकाजोरका कृष्णबहादुर मगर सहरको रोजगारी छाडेर अहिले गाउँमै मौरीपालन गरी मासिक ५० हजार आम्दानी गरिरहेका छन् । सानै उमेरमा सहर पसेका मगर कोरोना कहरका कारण गाउँ फर्किएका थिए।
कोरोनापछि लामो समय गाउँमा बस्नुपर्दा मगरले सुरुमा कुखुरापालन गरे । कुखुराबाट खासै आम्दानी नभएपछि उनले मौरीपालन गर्ने सोच बनाएर ललितपुरको गोदावरीमा गई मौरीपालनसम्बन्धी तालिम लिए र मौरीपालन सुरु गरे। सुरुमा मेलिफेरा जातको १० घार मौरीबाट व्यवसाय सुरु गरेका थिए । उनले भने, “त्यसपछि मैले छ घार सेरेना जातको मौरी थपेँ, अहिले यो व्यवसाय गरेको तीन वर्ष भयो आम्दानी राम्रै छ ।” उनी मौरीपालनसँगै मौरीका नयाँ घार उत्पादन गरी घारसहितका मौरी बेच्छन् । महभन्दा घारसहितको मौरी बिक्री चाँडो हुने र त्यसबाट बढी फाइदा हुने उनको अनुभव छ । मह र घार बिक्रीबाट उनले वार्षिक खर्च कटाएर छ लाख कमाइ गर्ने गरेको बताए।
आर्थिक वर्ष २०८०/८१ मा मौरीपालन व्यवसाय प्रवर्द्धनका लागि उनले रामेछाप नगरपालिकाबाट रु तीन लाख अनुदान प्राप्त गरे । सुरुमा लगानी गर्न समस्या भएको अवस्थामा अनुदान पाएपछि उनी खुसी भए । उनले एक लाख १५ हजार लगानी गरी मौरीपालन सुरु गरेका थिए । सबैभन्दा बढी खर्च मह काढ्ने मेसिनमा लागेको उनको भनाइ छ । पछि आफैँले घार निर्माण गर्न थालेपछि अहिले उनको बगैँचामा मेलिफेरा र सेरेना जातका ७० घार माहुरी छन् ।
मेलिफेरा जातका मौरीले वर्षमा चाररपाँचपटक मह उत्पादन गर्छ । यसले एक पटक मह काढ्दा एक घार बराबर १० देखि १५ केजीसम्म मह दिन्छ । सेरेना ९लोकल० जातको माहुरीको घारबाट भने वर्षमा दुईपटक मात्र मह निकाल्न मिल्ने उनले बताए । अहिले महभन्दा पनि मौरीसहितको घारको माग बढी भएकोले उनले माउ उत्पादनमा जोड दिएका छन् । उनले उत्पादन र निर्माण गरेका मौरीसहितको घार १० हजारका दरले बिक्री गर्छन् ।
सेरेना जातको माहुरीको मह प्रतिकेजी एक हजारदेखि एक हजार दुई सयसम्ममा बिक्री गर्छन्। अठार वर्षसम्म सहरमा रोजगारी गर्दा खासै पैसा कमाउन नसकेका मगर अहिलेको आम्दानीबाट सन्तुष्ट छन् । उनले भने, “देशका युवा लाइन लागेर विदेश गएको देख्दा आफूलाई पनि जाऊँ जाऊँ लागेको थियो, तर विदेश गएर फर्केको साथीहरूको अनुभव सुन्दा नजाने अठोट लिएर गाउँमै काम गर्न थालेका हुँ ।”
मौरीपालन सुरु गरेको दुई वर्ष लगानी थप्दै जानुपर्ने र उत्पादन नहुनेजस्ता समस्या थियो । तेस्रो वर्षदेखि धमाधम उत्पादन हुन थालेपछि लगानी उठेको उनको अनुभव छ । कम मेहनत र लगानीमा राम्रो आम्दानी हुने यो व्यवसायका लागि विभिन्न स्थानीय तहहरुले आफ्नो नीति तथा कार्यक्रममा मौरीपालन समावेश गरेका छन् । सोही अनुसार सुनापति गाउँपालिकाले उनीसँग एक सयवटा मौरीसहितको घार माग गरेको छ । रानीसहितको कर्मी मौरी उत्पादन गर्न केही समय लाग्ने भएकाले तत्काल मौरी उपलब्ध गराउन नसकिने उनले बताए ।
मौरीलाई अरिङ्गाल र मलसाँप्रोबाट जोगाउन निकै समस्या हुन्छ । धेरै घार भएपछि घर वरिपरि मात्र राखेर नहुने भएकाले बारीको कान्लाहरूमा राख्ने गरेकाले त्यहाँ अरिङ्गाल र मलसाँप्रोले दुःख दिने गरेको छ । घारभित्रको महमा कमिलाले दुःख दिने भएकाले कमिलाबाट जोगाउन ‘स्ट्यान्ड’ बनाएर राख्नुपर्ने र मलसाँप्रोबाट जोगाउन ढुङ्गाले थिचेर राख्नुपर्छ । उनले अर्को वर्षसम्ममा तीन सय घार मौरी पाल्ने योजना बनाएको छ । प्रायः मौरीपालक किसानहरुले धेरै र चाँडो मह निकाल्न घार नजिक चिनी र चास्नी बनाएर राखिदिने गरेपनि आफूले त्यस्तो नगरेको र चास्नी बनाएर दिइरहनु नपर्ने उनको भनाइ छ ।
मौरीको घार विस्तार गर्दा रानी बनाउन कृत्रिम प्रविधि नअपनाई प्राकृतिक तरिकाले रानी उत्पादन गर्ने गरेको उनले बताए । उनले भने, “घार फुटाएपछि मौरीहरूले आपत्कालीन रानी तयार पार्छन् रानी हराएको अवस्थामा माहुरीहरूले तीन/चार दिनको लार्भा अण्डा हालेर भए पनि तुरुन्तै रानी उत्पादन गर्ने भएकाले कृत्रिम तरिकाले रानी उत्पादन गरिरहनु पर्दैन ।”
रानी हराएको अवस्थामा दुई/तीन दिनसम्म कर्मी मौरीले रानी खोज्ने तर फेला परेन भने चौथो दिन देखि तीन/चार दिनको लार्भा हालेर रानी तयार पार्ने मगरले बताए । उनले उत्पादन गर्नुभएको मह सदरमुकाम मन्थली छिमेकी जिल्ला दोलखा, सिन्धुली, काठमाडौँ र भक्तपुरका बजारहरूमा बिक्री हुने गरेको छ ।
काठमाडौँ - उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले वर्तमान सरकार देशको विकासका लागि प्रभावकारी ढङ्गले काम गर्ने उद्देश्यले गठन भएको बताए।
सहरी विकास मन्त्रालयमा आज सञ्चारकर्मीसँग कुरा...
त्रिवेणी (नवलपरासी) - बर्दघाट सुस्तापूर्व नवलपुरको देवचुली नगरपालिका–५ मा पर्ने बन्दीपुरका पाखाहरू अहिले भुइँकटहरले ढाकेका छन् ।
स्थानीयवासी भुइँकटहर टिपेर बजारसम्म पुर्याउन हिजोआज व्यस्त छन् । पहाडी...
काठमाडौँ - सरकारले बेलायत सरकारबाट प्राप्त हुने करिब १३ अर्ब ८ करोड रुपैयाँ बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक...
काठमाडौँ - संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले आदिवासी,जनजातिहरूको हक अधिकार रक्षा लागि सरकार प्रतिबद्ध रहेको बताए।
शुक्रबार ३० औँ विश्व आदिवासी दिवसको अवसरमा आयोजित...
प्रतिक्रिया