प्रयागराज - यमुना र गङ्गा नदी मिसिएको दोभानमा स्नान गर्न पाउँदाको खुसी भक्तजनको मुहारमा प्रष्ट देखिन्छ । टाढाटाढाबाट आएका उनीहरूको शरीर थकित भए पनि यहाँ आइपुग्दाको खुसी उनीहरूको मुहारमा झल्किन्थ्यो ।
एक सय ४४ वर्षपछि भएको महाकुम्भमा पुण्य प्राप्त गर्न आएका लाखौँ भक्त नदीको एक किनारमा बनाइएका स्नानस्थलमा भगवान्को नाम जप्दै डुबुल्की मारिरहेका भेटिन्छन् । प्रयागराजमा गङ्गा र यमुनासँगै सरस्वती नदीको सङ्गम भएको विश्वासले धार्मिक रूपमा यो स्थानलाई विशेष मानिन्छ । यद्यपि हाल सरस्वती नदीको भने अस्तित्व देखिन्न ।
भारतको उत्तराखण्ड राज्यको प्रयागराजमा गत महिनादेखि सुरु महाकुम्भमा आउनेहरूको सङ्ख्या दिनप्रतिदिन बढिरहेको महाकुम्भ मेलाका सूचना अधिकारी गगन यादवले बताए। दैनिक एक करोडदेखि तीन करोडसम्म भक्तजन आइरहेका छन् । “महाकुम्भमा आउनेहरूको गणनाका लागि चोकचोकमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई)मा आधारित क्यामेरा जडान गरिएको छ । त्यसैका आधारमा आगन्तुकको आकडा अनुमान गरिएको हो । एक दिनमा सबैभन्दा बढी तीन करोडभन्दा बढी भक्तजन महाकुम्भमा आएका छन्”, उनले भने।
प्रधानमन्त्री नरेन्द्र मोदीले महाकुम्भमा स्नान गरेपछिका दिनमा यहाँ आइपुग्ने भक्तजनको सङ्ख्या उल्लेख्य बढेको छ । “पछिल्लो पाँच दिनमा भक्तजनको सङ्ख्या बढ्दो छ, हामीलाई व्यवस्थापन गर्न कठिन भएको छ”, उनले भने। हालसम्म ४५ करोडभन्दा बढीले महाकुम्भ मेला भरेका छन् ।
नेपाललगायत विभिन्न देशबाट श्रद्धालु भक्तजन आएका उनले जानकारी दिए । मेला समापनका दिनसम्ममा ५५ करोड भक्त आउने उनको अनुमान छ ।महाकुम्भ मेलाबाट नेपालले पनि धार्मिक पर्यटन प्रवद्र्धन गरी लाभ लिन सक्ने सूचना अधिकारी यादवले बताए ।
महाकुम्भमा आउने अधिकांश भक्तजन अयोध्यास्थित भगवान् रामको मन्दिर र वाराणसीस्थित विश्वनाथबाबाको मन्दिरमा पुगिरहेका छन् । त्यसैगरी, उनीहरूलाई नेपालका प्रसिद्ध तीर्थस्थल पशुपतिनाथ, मुक्तिनाथ र लुम्बिनीलगायत स्थानमा लैजान सकिने यादवले बताए ।
चुस्त व्यवस्थापन
विश्वका विभिन्न देशबाट महाकुम्भमा सहभागी हुन आउनेको सङ्ख्या अनपेक्षित रूपमा बढे पनि मेला व्यवस्थापन भने चुस्त छ । सबै भक्तजनलाई स्नान गर्न मिल्नेगरी नदी किनारमा व्यवस्थापन गरिएको छ । स्थानीय, राष्ट्रिय, अन्तरराष्ट्रिय सञ्चारमाध्यमका लागि आवासीय सुविधासहितको ‘पडकास्टिङ’ सञ्चालन गर्नेका लागि पनि स्थल बनाइएको छ । साथै आगन्तुकका लागि अस्थायी आवास निर्माण गरिएको छ । सूचना अधिकारी यादवका अनुसार मेला सञ्चालनका लागि हालसम्म भारत सरकारले रु ७५ अर्ब खर्च गरिसकेको छ ।
के हो महाकुम्भ ?
आजभन्दा आठ सय ५० वर्षअघि पहिलो महाकुम्भ मेला आयोजना भएको मानिन्छ । आदिशङ्कराचार्यले महाकुम्भको सुरुआत गरेका थिए । केही पौराणिक कथाहरूमा कुम्भको आयोजना समुद्र मन्थनपछि हुन थालेको वर्णन पनि पाइन्छ ।
प्रसिद्ध चिनियाँ यात्री हेनसाङले आफ्नो भारत यात्राका क्रममा कुम्भमेला आयोजना भएको उल्लेख गरेका थिए । हेनसाङका अनुसार राजा हर्षबद्र्धनले प्रत्येक पाँच वर्षमा नदीहरूको सङ्गममा ठूला कार्यक्रम आयोजना गर्दथे । ती कार्यक्रममार्फत राज्यको सम्पत्तिबाट केही हिस्सा धार्मिक व्यक्तिहरूलाई दान दिन्थे ।
त्यसबाहेक कुम्भको महिमा शिव पुराण, मत्स्य पुराण, पद्म पुराण र भविष्य पुराणमा उल्लेख भएको पाइन्छ । समुद्र मन्थनका क्रममा जब अमृतको कलश निस्कियो तब देवता र राक्षसबीच अमृतको कशल तानातान भयो । सोही सङ्घर्ष कम गर्नका लागि भगवान् विष्णुले मोहिनी रुप लिएका थिए ।
त्यसपछि जब देवता र राक्षसहरूबीच सङ्घर्ष बढ्न थाल्यो तब इन्द्रदेवका पुत्र जयन्तलाई अमृतको कलश जिम्मा लगाइयो । जयन्त कौवाको रुप धारण गरी राक्षसहरूबाट अमृतकलश खोसेर उड्न थाले । उड्ने क्रममा अमृतका केही थोपा प्रयागराज, उज्जैन, हरिद्वार र नासिकमा खसेको विश्वास गरिन्छ । अमृत खसेका स्थानमा कुम्भमेला हुन थालेको हो ।
महेन्द्रनगर । कञ्चनपुरमा मलामी गएका एक युवक डुबेर बेपत्ता भएका छन् । जिल्लाको भीमदत्त नगरपालिका वडा ३ तिलकपुरका २८ वर्षीय सनि दमाईं महाकाली नदीमा डुबेर बेपत्ता भएका हुन् ।
जिल्ला...
महेन्द्रनगर । जिल्ला निर्वाचन कार्यालयका अनुसार यहाँ दुई हजार ६५२ मतदाता थपिएका छन्।
राष्ट्रिय परिचयपत्रका आधारमा एक हजार आठ सय ४८ र बायोमेट्रिका आधारमा आठ सय चार मतदाता थपिएका निर्वाचन...
काठमाडौं । एसीसी यू–१९ प्रिमियर कपको फाइनलमा नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई) बीचको उपाधि भिडन्त सुरु भएको छ।
आजको निर्णायक खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय...
काठमाडौं । एसीसी यू–१९ प्रिमियर कपको फाइनलमा नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई) बीचको उपाधि भिडन्त सुरु भएको छ।
आजको निर्णायक खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय...
प्रतिक्रिया