बिमला रोक्का
काठमाडौँ । सामाजिक सञ्जालमार्फत सुरु भएको भ्रष्टाचार विरोधी अभियानमा भदौ २३ गते सडकमा उत्रियो। हजारौँ जेन–जी त्यस दिन सडकमा निस्किए, र सरकारलाई खबरदारी गरे।
बानेश्वरसम्म शान्तिपूर्ण रूपमा खबरदारी गरिरहेका जेन–जी प्रदर्शनमा एकाएक घुसपैठ भयो। त्यसपछि राज्य पक्षबाट हठात् दमन भयो। प्रहरीको गोलीले १९ जनाको ज्यान गयो।
त्यसपछि भदौ २४ गते सडकमा विद्रोहको आगो दन्कियो। दुई दिनमै तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकार ढल्यो, र पूर्व प्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वमा नयाँ अन्तरिम सरकार गठन भयो।
भदौ २३ अघि सामाजिक सञ्जालमा भ्रष्टाचार विरुद्ध विभिन्न समूह बनाएर १० हजारको हाराहारीमा जेन–जी युवा सडकमा ओर्लिएका थिए। तर नयाँ सरकार गठन प्रक्रिया सुरु हुँदा एकाएक आफूलाई जेन–जी नेता दाबी गर्दै हामी नेपालका संस्थापक सुदन गुरुङ अगाडि आए। सुशीला कार्की प्रधानमन्त्री बनाउँदा पनि उनले सहजीकरण गरेको दाबी गर्दै आएका छन्।
यस्तोमा अन्तरिम सरकार बनेको महिना दिन पुग्नै लाग्दा सबैजसो जेन–जी पूर्ण सन्तुष्ट भने देखिएका छैनन्। जेन–जीहरूले आफ्नो विद्रोहको बलमा बनेको सरकारले आफ्नो र जनताको अपेक्षाअनुसार काम नगरेको भन्दै आवाज उठाउन थालेका छन्। यही क्रममा बिहीबार केही जेन–जी सडकमा पनि आएका थिए।
उसो त यो एक महिनामा जेन–जी नामका अनेक समूह र गुट–उपगुट पनि मैदानमा देखा परेका छन्। उनीहरू पनि आपसमै असमझदारी र बेमेलको स्थितिमा छन्। नेतृत्वविहीन आन्दोलनले नयाँ परिस्थिति सिर्जना गर्दा कुन जेन–जी मुख्य हो? कुन होइन? भन्नेमा पनि अन्यौलता छ।
उनीहरू उठाउने गरेका मुद्दा पनि अनेक थरी छन्। कोही प्रत्यक्ष कार्यकारीको व्यवस्था भनिरहेका छन् भने कोही संविधान नै फाल्नुपर्छ भन्नेसम्मका निस्किएका छन्। एक बलियो जमात भने वर्तमान संविधानसहित लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको निरन्तरतामा जोड दिइरहेको छ।
जेन–जी आन्दोलनकी एक अगुवा रक्षा बम सुरु देखी अहिलेसम्म आन्दोलनका क्रममा आफ्नो समूहले नेतृत्व लिएको दाबी गर्दै आएकी छन्। आन्दोलनको मोर्चादेखि तत्कालीन प्रधानमन्त्री ओलीले राजीनामा दिएपछि सेनाको वार्तासम्ममा उनी अग्र मोर्चामा देखिँदै आएकी छन्। उनी संविधान, लोकतन्त्र, संघीय गणतन्त्र, विधिको शासनजस्ता विषयमा प्रस्ट अडान राख्दै आएकी छन्। उनको आवाज अराजकताविरुद्ध पनि छ। ‘देश फेरि लोकतन्त्रकै बाटोमा अघि बढ्नुपर्छ। यही भित्र रहेर भ्रष्टाचार, कुशासनको जालो तोड्दै अघि बढ्नुपर्छ,’ उनी भन्छिन्,‘अब कुनै पनि समूहले अराजकता मच्चाएर विध्वंस गर्न पाइँदैन। हामी खबरदारी गर्छौँ।’
जेन–जी आन्दोलन अगाडि नै देखिएका मिराज ढुंगाना आन्दोलनका दिन भने सडकमा आउन सकेनन्। भदौ २२ गते विवादित दुर्गा प्रसाईँको घरमै फोटो खिचाएपछि जेन–जीहरूले नै उनलाई ‘थ्रेट’ गरेका थिए। त्यसपछि उनी केही समय गुमनाम जस्तै भए।
अन्तरिम सरकार गठनपछि उनी फेरि फर्किएका छन्। उनलाई सरकार र सुदन गुरुङ समूहले स्वीकार गर्दै सक्रिय पारेको देखिन्छ। उनी प्रत्यक्ष कार्यकारीको एजेन्डामा वकालत गरिरहेका छन्।
‘युवाहरूले पुनः एकता देखाउँदै ठुलो शक्ति प्रदर्शन गर्छौँ। प्रत्यक्ष कार्यकारी प्रणालीको अध्ययन तथा अनुसन्धान समेत गरिरहेका छौँ,’ मिराजले भने, ‘प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचित शासकलाई निरङ्कुश हुन कसरी रोक्न सकिन्छ ? त्यसबारे पनि काम भइरहेको छ।’ सरकारले उनलाई सक्रिय पारेको देखिए पनि उनी आफै भने सरकारसँग सन्तुष्ट सुनिन्नन्।
शुक्रबार मात्रै सामाजिक सञ्जालमा आफू तुफान हुनु पहिले शान्त रहेको दाबी गरेका थिए। उनका गतिविधिमा उनी एक अस्थिर र अन्योलमा भएजस्तो देखिएको छ।
मिराजसँगै देखिएका प्रवेश दाहाल पनि आफूलाई वास्तविक जेन–जी नेता भएको दाबी गर्दै आएका छन्। उनी पनि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखका लागि वकालत गरिरहेका छन्। ‘देशमा सुशासनका लागि आन्दोलन गरिएको थियो। अब त्यसलाई स्थायी र दिगो बनाउनुपर्छ। त्यसका लागि प्रत्यक्ष कार्यकारी सरकार प्रमुख चाहिन्छ,’ उनी भन्छन्।
जेन–जी अभियन्ता यसरी एक आपसमा नमिलेर फरक फरक अभिव्यक्ति र एजेन्डा अघि सार्दा देश र जनतालाई पनि अलमलमा पारेका छन्। जसको चिन्ता जेन–जी अभियन्ताभित्रै पनि फस्टाउँदै गएको छ।
‘विभिन्न समूहमा विभाजन हुने, गुट बनाउने र फरक फरक एजेन्डा बनाउँदा जेन–जी आन्दोलन नै बद्नामित हुने अवस्थामा छ। हामीले जुन प्रवृत्तिको विरोध गरेका थियौँ। अहिले जेन–जीमा पनि त्यही स्थापित हुने चिन्ता बढेको छ,’ जेन–जी अभियन्ता तनुजा पाण्डे भन्छिन्, ‘त्यसैले स्वार्थका आधारमा यसरी समूहमा बाँडिनु गलत भइरहेको छ।’ उनी वर्षौँको संघर्षपछि बनेको संविधान विपरीत गएर देशलाई फाइदा नहुनेमा प्रस्ट छिन्।
‘संविधानमा मन नपरेको, नमिलेको व्यवस्था संशोधन गर्न सकिन्छ। तर, संविधान विपरीत कुरा गरेर, भड्काएर कहिल्यै राम्रो हुन्न,’ तनुजाले भनिन्।
जेन–जी यसरी असन्तुष्ट र विभाजित रहँदा अन्तरिम सरकारकी प्रधानमन्त्री कार्की भने जेन–जी पुस्ताले बगाएको रगत खेर नजाने भन्दै आश्वासन दिइरहेकी छन्।
आन्दोलनको एक महिना पुगेपछि राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले आफू जेन–जीले गरेको बलिदान, राजनीतिक क्रान्तिको भावनालाई सबैले आत्मसात् गर्दै अघि बढ्ने र अरूले पनि आत्मसात् गर्नुपर्ने बताएकी छन्।
काठमाडौं– विश्व बैंकले आर्थिक वर्ष २०८२\८३ मा नेपालको आर्थिक वृद्धिदर २.१ प्रतिशत हुने प्रक्षेपण गरेको छ । मंगलबार साउथ एशिया डेभलपमेन्ट रिपोर्ट सार्वजनिक गर्दै आर्थिक वर्ष ०८२\८३ मा...
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले शान्ति सुरक्षा र सामाजिक सद्भाव कायम राख्न आग्रह गरेको छ । हालै देशभरि भइरहेका राजनैतिक गतिविधि र प्रदर्शनहरूपछि उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै...
काठमाडौँ । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले जेनजी आन्दोलनका अगुवा भनिएका सुदन गुरुङलाई विभिन्न मान्छे र शक्तिले प्रयोग गरेको दाबी गरेका छन्। साइबर ब्युरोमा बयान दिएपछि बुधबार...
काठमाडौँ । सरकारले नेकपा एमाले निकट युवा संघलाई मोटरसाइकल र्याली गर्न अनुमति नदिने भएको छ। काठमाडौँ जिल्ला प्रशासनले शुक्रबार सूचना जारी गरेर शनिबार काठमाडौँ जिल्लाका विभिन्न स्थानमा मोटरसाइकल र्याली र...
प्रतिक्रिया